बाराको बघवनमा नन्दु राउत कुर्मीको हत्या प्रकरण, पाँच अभियुक्त पुर्पक्षका कारागार चलान

वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या प्रकरणमा संलग्न पाँच जनालाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश जिल्ला अदालत बाराले दिएको छ । जिल्ला अदालत बाराका मुख्य जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यको एक नम्बर इजलासले असार २२ गते उक्त आदेश दिएको हो । अदालतले आरोपीहरूलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चल्दै गरेको उल्लेख गर्दै थुनामा राख्न आदेश दिएको हो । गत जेठ २९ गते साँझ ७ बजे मृतक नन्दु राउत कुर्मीलाई बघवन चोकस्थित राइस मिलमा काम गरिरहेको बेला छिमेकी उमेशप्रसाद जयसवाल, उनका छोरा, पत्नी र अन्यले सामूहिक कुटपिट गर्दै गम्भीर घाइते बनाएका थिए । उनलाई तत्काल कलैया प्रादेशिक अस्पताल लगिएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए । घटनापछि मृतकका छोरा दीपेन्द्र पटेलले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका थिए । अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले असार २० गते पाँच नामाथि अभियोजन पत्र दर्ता गरेको हो । अदालतमा आरोपितहरूको तर्फबाट अधिवक्ता सुमनप्रसाद साहले बहस गरेका थिए भने सरकारी वकिलको कार्यालयबाट सहायक जिल्ला न्यायाधिवक्ता खडगबहादुर बस्नेत र मृतकका तर्फबाट अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले बहस गरेका थिए ।प्रहरी अनुसन्धानका क्रममा घटनाको कारण पुरानै रिसिइबी रहेको खुल्न आएको छ । कुटपिटमा संलग्नको आशङ्कामा उमेशप्रसाद जयसवाल, उनकी पत्नी, तीन जना छोरासहित दिगम्बर साह लवारलाई समेत मुद्दामा आरोपित बनाइएको छ । नन्दु कुर्मीको शव कलैया र वीरगञ्जमा परीक्षण सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल काठमाडौँको विधि विज्ञान प्रयोगशालामा पोस्टमार्टम गरिएको थियो । दुई दिनपछि मात्र अन्त्येष्टि गरिएको थियो । घटनाले बघवन गाउँमा त्रास सिर्जना गरेको छ भने पीडित परिवारले न्यायको माग गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।