
वीरगञ्ज । राजधानीबाहिरको प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने नारायणी अस्पतालमा फेरि एक पटक गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ । उपचारका क्रममा सर्किजल ब्लेड बिरामीको शरीरमै छाडिएको पाइएको छ । यद्यपि, जिम्मेवार चिकित्सकहरू ‘थाहा छैन’ भन्दै पन्छिन खोजिरहेका छन् । वीरगञ्ज महानगरपालिका–२४, रमगढवाका १९ वर्षीय पप्पु पटेल सोमबार राति करिब ९ बजे मोटरसाइकल दुर्घटनामा परेपछि काँधमा गम्भीर चोट बोकेर नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका थिए । घटनास्थलमा सडकमा छाडिएको फलामको रड काँधमा गाडिएर गम्भीर चोट लागेका पप्पुलाई तत्काल टाँका लगाइएको थियो । तर, उपचारका लागि आवश्यक ग्लोभ्स, गज, टेपजस्ता आधारभूत सामग्रीसमेत अस्पतालमा नभएपछि बिरामीका साथीहरूले १५० रुपैयाँ जुटाउन आफ्नै मोबाइल फोन बन्धकी राख्नु परेको थियो । प्राथमिक उपचारपछि घर फर्किएका पप्पुलाई रातभरि असह्य पीडा भएपछि मङ्गलवार निजी एक्स-रे केन्द्रमा परीक्षण गराउँदा काँधभित्रै सर्किजल ब्लेड देखिएको हो । यस्तो गम्भीर लापरबाहीले बिरामीको जीवन नै सङ्कटमा पार्ने खतरा देखिएको छ । पप्पुले पुनः अस्पताल फर्किएर चिकित्सकसँग सोधपुछ गर्दा ड्युटीमा रहेका चिकित्सकले “म हिजो थिएन, मलाई थाहा छैन” भनेर हात झिक्न खोजेको आरोप लागेको छ । अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. कृष्ण साहले राति डा. दीपक चौरसिया ड्युटीमा रहेको जानकारी दिए । तर डा. चौरसियाले ब्लेड लडेको ठाउँबाटै घाउभित्र पसेको हुनसक्ने भने पन्छिन खोजेका छन् । उनले आफ्नो लापरबाही नभएको दाबी गरेका छन् ।” डा. चौरसियाको बयानले चिकित्सकहरूको संवेदनहीनता र गैरजिम्मेवारीपनलाई उजागर गरेको छ । अर्कोतर्फ बिरामीका आफन्तहरूले सडकमा सर्किजल ब्लेड कहाँबाट आयो? के सडकमै बिरामीको सर्जरी गरिएको थियो? जस्ता प्रश्न गर्न थालेका छन् । घटना बारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमान लान दासले आफूलाई कुनै जानकारी नपाएको बताएका छन् । उनले भने, “यदि यस्तो लापरबाही पुष्टि भयो भने छानबिन गरी आवश्यक कारबाही हुनेछ ।” बिरामीका आफन्तहरूले तत्कालै घटनाको छानबिन गर्दै दोषी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कारबाही गर्न माग गरेका छन् ।



