
वीरगञ्ज । पर्सा जिल्लामा डिपबोरिङमार्फत खानेपानी तान्ने क्रममा विद्युत् पोलबाट अवैध रूपमा ‘हुकिङ’ गरी विद्युत् प्रयोग गर्ने प्रवृत्ति बढेसँगै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज ले एक साताभित्र सार्वजनिक स्थानमा मिटर जडान नगर्नेको लाइन काट्ने चेतावनी दिएको छ। वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवे का अनुसार, खानेपानी तथा सिँचाइका लागि अब अनिवार्य रूपमा मिटर जडान गर्नुपर्नेछ। उहाँले भने, “उपभोक्ता समितिहरूले आवश्यक कागजातहरू लिएर आएमा २४ घण्टाभित्र मिटर जडान गरिदिने व्यवस्था मिलाइएको छ। अवैध हुकिङ कार्य अब सह्य हुने छैन।” दुवेले हुकिङका कारण विद्युत् प्रणालीमा ओभर ट्रिपिङ, सर्टसर्किट र विद्युत् चुहावट हुने खतरा रहेकाले यसले सम्पूर्ण क्षेत्रको विद्युत् आपूर्तिमा असर पर्ने बताएका छन्। त्यसैले सार्वजनिक स्थलमा मिटरविना चलाइएका डिपबोरिङ लाइनहरू एक साताभित्र हटाइने स्पष्ट सन्देश दिएका छन्। यसै सन्दर्भमा वीरगञ्ज महानगरपालिका रानीघाट वडा नम्बर ९ का हिरालाल ठाकुरले नगरवासीलाई विद्युत् मिटर जडान गरेर मात्र डिपबोरिङ सञ्चालन गर्न आग्रह गर्दै भने, “मिटर प्रयोग गरेमा विद्युत् प्रयोग कानुनी ढंगले हुने र अन्य प्राविधिक जोखिमबाट पनि बच्न सकिन्छ। सेवा पनि नियमित हुनेछ।” विद्युत् प्राधिकरणले अवैध हुकिङविरुद्ध स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी कडाइका साथ निगरानी र कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ। स्थानीय उपभोक्तालाई छिटोभन्दा छिटो मिटर जडान गरी कानुनीरूपमा विद्युत् सेवा उपभोग गर्न प्राधिकरणले पुनः अपील गरेको छ।



