
वीरगञ्ज । सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। संघको आयोजनामा र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साको संयोजनमा कार्यक्रमहरू संचालन गरिएको हो। कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको उक्त स्थलको सरसफाइ अभियानले जनचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ वातावरण प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकको भनाइ छ। असार १६ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको परिसरमा जिल्ला रेडक्रस सोसाइटी पर्सासँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा ४० जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए। गर्मीयाममा बिरामीहरूको संख्या बढेसँगै रक्तको अभाव हुन सक्ने स्थिति रहेकोले उक्त रक्तदान कार्यक्रम समयसापेक्ष र उपयोगी हुने विश्वास गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको उपस्थिति रहेको थियो। त्यस्तै, जिल्ला रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, प्रभु अस्पतालका सञ्चालक दिलिप कार्की, इनोभेटिभ संस्था वीरगञ्जका अध्यक्ष कमल चौगाईं, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष डी.एन. अग्रवाल, एलाइड युथ सोसाइटीका ओमकुमार झा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सशस्त्र प्रहरी परिवार महिला संघले आगामी दिनहरूमा पनि सामाजिक सेवामा केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



