वीरगञ्जमा ट्याक्टर दुर्घटना: दुई किशोरको मृत्यु, एक घाइते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा बगही गाउँका पन्ना पटेलका छोरा १६ वर्षीय आकाश पटेल र राजेश पटेलका छोरा १७ वर्षीय गोलु पटेलको ज्यान गएको हो। घाइते हुनेमा इनर्वा गाउँका १८ वर्षीय जयकुमार मण्डल रहेका छन्। वडाध्यक्ष सूर्युग महतो धानुकका अनुसार, भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको नम्बर प्लेट विहीन ट्याक्टर दिउँसो करिब २ बजे अनियन्त्रित भई सडकबाट झन्डै १५ फिट तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवाष भट्टका अनुसार, ट्याक्टर खस्दा चालक आकाश पटेल र सवार गोलु पटेल च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। घाइते जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।