
काठमाडौं । मधेशकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ । राजधानीमा सोमबार बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकले आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा रहने एक एक जना नेताहरूको नाम टुंग्याउने निर्णय गरेको हो । मोर्चाका गतिविधिमा सक्रिय राष्टिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार बिहीबारसम्म कार्यदल बनाएर सबै दलका अध्यक्षसहितको बैठक बस्ने छ । उक्त कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने छ । ‘अवधारणा, एजेन्डा, मोडल तयार गरेर सबै अध्यक्षसँग छलफल गरेर बैठक गर्ने निर्णय भएको छ,’ झाले अनलाइनखबरसँग भने । उनका अनुसार आजको बैठकमा जसपाबाट रेनु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपाबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतीशील पार्टीबाट हृदयश त्रिपाठी र डा. शिवजी यादव र तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल बैठकमा सहभागी थिए ।



