
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पर्याप्त निद्रा अति आवश्यक हुन्छ । तर अहिलेका बालबालिका रातमा अबेरसम्म मोबाइल, ल्यापटपमा अभ्यस्त छन् । एक त आमाबाबु आफैं ढिला सुत्छन् । आर्को भनेको बच्चाले डिस्टर्ब नगरुन् भनेर उनीहरुलाई पनि मोबाइल वा टिभी हेर्न दिन्छन् । बालबालिकालाई त्यसपछि के चाहियो । उनीहरु धीत मरुन्जेल सामाजिक सञ्जालमा चौबीसै घण्टा आइराख्ने सामाग्री, गेमहरु हेरेर अबेर सुत्ने र ढिला उठ्ने बानी विकास भइरहेको हुनसक्छ । जसको प्रभाव उनीहरुको दैनिकीमा परिरहेको छ । हेर्दा सामान्य लाग्छ, तर राति अबेर सुत्ने बानीले बच्चामा मोटोपन, एकाग्रतामा कमी, आलस्यता बढाउँदै गएको देखिन्छ । अबेर सुत्ने बानी कदापी राम्रो हुन सक्दैन । यो बानी हटाउन बच्चालाई सानैदेखि सुत्ने र उठ्ने निश्र्चित तालिका अभिभावकले बनाइदिनुपर्छ ।
बेलुकाको खाना छिटो खानुपर्छ
बच्चालाई समयमै सुताउन बेलुकाको खाना सूर्यास्त हुने बित्तिकै खुवाउनुपर्छ । यसले खाना छिटो पच्न पनि मद्दत गर्छ । बेलुकाको खाना र बालबालिकाको सुत्ने समयबी कम्तीमा २ देखि ३ घण्टाको अन्तर हुनुपर्छ । यसो गर्दा एसिड रिफलक्स र अन्य पाचन समस्याबाट बच्न सकिन्छ ।
खानपानमा ध्यान दिने
बच्चाको निद्रा र खाने बानीबीच गहिरो सम्बन्ध हुन्छ । बच्चाले बेलुकाको खानामा जे खान्छ त्यसले उसको निद्रमा असर गर्छ । त्यसैले बच्चालाई सुत्ने समयमा मिठाई, चकलेट, जुस, कफी लगायत टाढा राख्नुपर्छ । किनभने गुलियो तथा क्याफिनयुक्त पेयले उनीहरुलाई ऊर्जा दिन्छ, जसकारण तिनीहरु सक्रिय हुन्छन् र चाहेर पनि सुत्न सक्दैनन् । त्यसैले बच्चाको बेलुकाको खानालाई सधै हल्का बनाउनुपर्छ । यसले उनीहरुमा आरामको अनुभूती गराउनेछ र सजिलै निदाउन सक्छ ।
स्क्रिन समयमा ध्यान दिनुहोस्
सामान्यता बालबालिकाले आफना आमाबाबुसँग लामो समय टिभी वा मोबाइल हेर्छन् । स्क्रिनबाट नीलो प्रकाशले बालबालिका र वयस्कहरुका निद्रामा बाधा पुरयाउँछ । त्यसैले बच्चालाई सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि स्क्रिनबाट टाढा राख्नुपर्छ ।
चिनी र क्याफिन कम गर्ने
बालबालिकालाई चिनी र क्याफिनबाट टाढै राख्नुपर्ने भएपनि अधिकांश बालबालिकाले सुत्नुअघि दूध पिउने गर्छन । जसमा कफी वा चकलेटको पाउडर पनि मिसाइनछ । तर चिनि र क्याफिन दुवै निद्राका शत्रु हुन् । त्यसैले बच्चालाई सुत्नुअघि दुध नदिनुहोस् । बच्चाहरुलाई दूध खुवाउने सबैभन्दा राम्रो समय साँझ ४ देखि ६ बजेसम्म हो ।
सुत्ने समयको तालिका बनाउनुहोस्
सुत्नु भन्दा कम्तीमा ३० मिनेट पहिले बच्चालाई किताबहरु पढाउन लगाउने, कथाहरु सुनाउने गर्ने हो भने उनीहरुमा छिटो सुत्ने बानी पर्छ । यसबाट उनीहरु मानसिक र शारीरिक रुपमा सुत्न तयार हुन्छन् । तर यो समयमा बच्चालाई सुत्नुअघि खेल्ने वा ठट्टा गर्ने जस्ता गतिविधि गर्नु हुदैँन । यसले बच्चाको दिमाग सक्रिय रहन्छ र उनीहरु निदाउन चाहँदैनन् ।
निद्रा लाग्ने वातावरण
सफा, स्वाच्छ र शान्त वातावरण राम्रो निद्राका लागि धेरै महत्त्वपूर्ण छ । बच्चाका निद्रामा कुनै प्रकारको गडबडी नहोस् भन्ने हिसाबले उनीहरुको कोठा सफा हुनुपर्छ । उनीहरु सुत्ने कोठामा बाहिरको होहल्ला आउनु हुँदैन । बत्ती मधुरो राख्नुपर्छ । बच्चाहरुमा रातिको लागि हल्का पहिरन लगाइदिनुपर्छ ।



