
वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको लापरवाहीका कारण वीरगञ्ज महानगरवासीको जनजीवन गर्मीमा अत्यन्तै कष्टकर बनेको छ । बिना सूचना छिनछिनमा विद्युत काट्न थालिएकोले महानगरवासी आक्रोशित भएका छन् । नेपाल सरकारले लाडसेडिङ मुक्त घोषण गरे तापनि वितरण केन्द्र वीरगञ्जले यो घोषण व्यवहारमा लागू गर्न असफल रहेको जनगुनासो छ । गर्मीको समयमा विद्युत आपूर्ती अवरुद्ध भएपछि दर्जनौं सघं संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुले वितरण केन्द्रलाई ध्यानकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन् । तर, ती ज्ञापन पत्र वितरण केन्द्रले रद्दीको टोकरीमा फालेको जस्तो महसुस गरिएको छ । केहि दिन अघि मात्र जनमत पार्टीको जिल्ला समिति तथा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साले नियमित रुपमा विद्युत आपूर्ति गर्न माग गर्दै वितरण केन्द्रका प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । सो अवसरमा वितरण केन्द्रका प्रमुख अवधेश दुबेले छिट्टै समस्या समाधानको प्रतिबद्धता जनाएका थिए । तर व्यवहारमा उनले उल्टो चरित्र देखाउँदै आएका छन्, जसका कारण वीरगञ्जवासी गर्मीमा लोडसेडिङ्गको मार खेप्न बाध्य भएका छन् । यो स्थिति निरन्तर रहिरहेमा स्थानीय बासिन्दाहरुले अझै कष्टकर दिन बिताउनु पर्ने देखिएको छ । वीरगञ्ज महानगरवासीले विद्युत प्राधिकरणको यस प्रकारको लापरवाही र गैरजिम्मेवारपूर्ण व्यवहारप्रति तत्काल सुधारको माग गरेका छन् ।



