
पाल्पा । हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ ।आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा समेत लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा कालीगण्डकी स्नान गरी पूजाआरधना गर्न भक्तजनको घुइँचो लागेको हो । शुक्रबार पाल्पास्थित तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम, केलाली, अर्सेदी, रामपुरलगायतका स्थानमा बाक्लो रूपमा भक्तजनको उपस्थिति रहेको छ । यस अवसरमा देवनदीका रूपमा पूजित कालीगण्डकीमा स्नान गर्न र रामनदी धाममा पूजाअर्चना गर्न पाल्पा, स्याङ्जा, गुल्मी, रूपन्देही, नवलपरासीलगायत आसपासका क्षेत्रबाट श्रद्धालु भक्तजनहरू एकाबिहानै राम्दी पुगेको बताएका छन् । सबेरैदेखि गण्डकी स्नान गरी भगवान् विष्णु, तुलसी र शालिग्रामको पूजा, सिद्धगुफामा दर्शन, कालीगण्डकीमा तोरण तार्नेलगायतका कार्य गर्न श्रद्धालुहरूको नदी किनारमा जम्मा भएका हुन् । आजको दिन गंगा स्नान गरी तोरण तारेमा मनोकांक्षा पूरा हुनुका साथै पितृहरु बैकुण्ठबास गर्दछन् भन्ने धार्मिक विश्वस रहेको छ ।



