
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यवसायीलाई राति १० बजेभित्र होटलको गेट बन्द गर्न र होटलमा बसेका पाहुनालाई साढे १० बजेसम्म बिदा गर्न निर्देशन दिएको छ । केही दिनअघि भएको सर्वपक्षीय छलफलपछि प्रशासन कार्यालयले होटल सञ्चालनको समयसीमा तोकिदिएको हो । जिल्लाभरका रात्रिकालीन व्यवसायलाई समेट्ने एकीकृत मापदण्ड तयार नहुँदासम्म विराटनगरका होटल व्यवसाय सञ्चालन गर्न समयसीमा तोकिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताएका छन् । उनका अनुसार एक महिनाभित्र मापदण्ड तयार गरेपछि नयाँ निर्णय हुनेछ । ‘राति १२ बजेसम्म होटलमा बसेर मदिरा सेवन गरेका यात्रु निस्किँदा दुर्घटना बढ्यो । त्यहाँ काम गर्ने महिला कामदारको सुरक्षा पनि भएन,’ उनले भने, ‘रात्रिकालीन मनोरञ्जनात्मक व्यावसाय सञ्चालनसम्बन्धी एकीकृत मापदण्ड तयार नभएसम्मका लागि १० बजे बन्द गर्ने निर्णय भएको हो, मापदण्ड बनेपछि समय बढ्छ ।’ विराटनगरका सडकमा रातभर नै सवारीसाधन ओहोरदोहोर गर्छन् । विराटनटनगर विमानस्थलमा पनि मध्यरातसम्म उडान अवतरण हुन्छ ।



