
काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक अहिले बसिरहेको छ भने अर्को बैठक केहीबेरमा सुरु हुने छ । अहिले भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिसँग छलफल भइरहेको छ । नेपाली कांग्रेसका कृष्ण पौडेल नेतृत्वको यो संसदीय समिति राष्ट्रिय सभा अन्तर्गतको हो । यसैगरी आजै प्रतिनिधि सभा अन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को बैठक पनि बस्दै छ । रास्वपा सांसद गणेश पराजुली सभापति रहेको यो समितिको बैठक दिउँसो एक बजे सिंहदरबारमै बस्न लागेको छ ।



