
चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी जग्गा कारोबारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको हो । मन्त्री रावल हाल चितवनका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी छन् । सोही क्रममा जग्गा तथा आवास व्यवसायीले मन्त्री रावललाई भेटेर जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटाउन, भूउपयोग नीति स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न माग गरेका हुन् । संघका अध्यक्ष अधिकारीले घरजग्गा कारोबारबाट सरकारले राजस्व प्राप्त गर्ने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताएका थिए ।



