सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ

सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन् । गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए । हिजो राति मात्र सोही मुदामा प्रहरीले वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो ।