त्रिपुरेश्वर बस आगलागी घटना : कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा जलेर चालकको मृत्यु भएको घटनाको विरोधमा कीर्तिपुरको बर्न अस्पताल बाहिर प्रदर्शन भएको छ । मृतक अर्जुन दोङका परिवार र स्वतन्त्र चालक संघ नेपालले अस्पताल बाहिर मंगलबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अर्जुनका दुई श्रीमतीले आफ्नो श्रीमान्‍ले न्याय पाउनुपर्ने भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । उनीहरूले भनेका छन्, ‘बुढालाई न्याय चाहियो । अरू केही चाहिएको छैन । मर्न बाध्य पार्नेमाथि पनि कारबाही हुनुपर्छ ।’ स्वतन्त्र चालक संघले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कार्बाही हुनुपर्ने माग राखेको छ । संघका अध्यक्ष धनबहादुर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सवारी चालकहरूमाथि हुने ज्यादती बन्द गर्नुपर्छ । चालकहरूमाथि हुने बेथिति अन्त्य हुनुपर्छ । मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ । साथै चालक आयोग गठन गरेर घटनाबारे निष्पक्ष छानबिन हुनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’ चालकमाथि हुने अत्यचार बन्द गर, चालक मार्न पाइँदैन, चालकलाई न्याय दे लगायतका नारा लगाएर उनीहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मकवानपुरका अर्जुन दोङ घाइते भएका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा गए राति मृत्यु भएको हो ।