
काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकताबारेको हल्लामा सत्यता नरहेको बताएका छन् । शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन् । ‘एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ । भविष्यमा पार्टी एकता गर्ने बिषयमा नेतृत्व तहमा कुराकानी भए पनि एकता र पद बाँडफाँटमा केहि कुरा भएको छैन,’ नेता पुनले भने । तर संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिहरू तथा आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए । नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू सरकारमा रहेको जानकारी दिए ।



