
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा रहेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । अध्यक्ष मिनाकुमारी खरेलको नेतृत्वमा महिला संघले दुवै गुम्बामा रहेका रसुवा बाढी प्रभावित दुई सय महिला तथा बालबालिकाहरूलाई राहत वितरण गरेको हो । गुम्बामा आश्रय लिइरहेका दुई सय महिला तथा बालबालिकाहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरू थर्मल, ज्याकेट, कपडा, सेनेटरी प्याड, टुथपेस्ट, ब्रस, टोइलेट पेपरलगायतका सामग्रीहरू वितरण गरिएको केन्द्रीय सदस्य शोभा भण्डारीले जानकारी दिइन् । राहत वितरणका क्रममा रसुवाबाट निर्वाचति कांग्रेस सांसद मोहन आचार्यसँगै पार्टीका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा, सपना राजभण्डारी, तरुण अध्यक्ष खरेल, राहत संकलन तथा वितरण संयोजक सोना परियारलगायतको सहभागिता रहेको थियो।



