
काठमाडौं । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले ताइवानका बारेमा हालै गरेको टिप्पणी चर्चामा आएको छ। यस महिनाको सुरुमा अलजजिरासँगको अन्तर्वार्तामा अनवरले भनेका थिए, ‘म ताइवानलाई चीनको एउटा भाग मान्छु।’साथै उनले यो कुरालाई ‘सबैले स्वीकार गरेका छन्’ भनेर पनि थपेका थिए। उक्त टिप्पणीले मलेसिया आफ्नो परम्परागत असंलग्न नीतिमा अझै प्रतिबद्ध छ कि छैन भन्ने प्रश्न उठाएको छ। मलेसियाले चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै एक पक्ष नलिने नीति लिँदै आएको थियो। ताइवानको अवस्थाबारे प्रश्न सोधिँदा उनले उत्तर दिएका छन्, ‘हामी असहमत हुन सक्छौं, त्यहाँ केही अतिवादी कुराहरू छन्। हो, तपाईं आफ्नो विचार व्यक्त गर्नुस्। यो एक चीन हो। यो कुरा सबैले स्वीकार गरेका छन्।’ यदि चीनले ताइवानमाथि बल प्रयोग गर्यो भने त्यसको निन्दा गर्नुहुन्छ कि हुन्न भनेर सोधिएको थियो। त्यसको उत्तरमा अनवरले मलेसियाको उदाहरण दिएका छन्। उनले भनेका छन्, ‘यदि मलेसियाको कुनै राज्य अलग्गिन खोज्यो भने मैले पनि देशको एकता बचाउन बल प्रयोग गर्नेछु।’ उनको यो अभिव्यक्तिपछि मलेसियाको परम्परागत असंलग्न परराष्ट्र नीति, क्षेत्रीय सुरक्षा र ताइवानसँगको उच्च प्रविधियुक्त व्यापारिक सम्बन्धमाथि गम्भीर प्रश्नहरू उब्जिएका छन्। ताइवानले यस कुरामा विरोध जनाएको छ। साथै, ताइवानले मलेसियामा आफ्ना लगानीकर्ताहरूको मनोबल खस्किने चेतावनी दिएको छ।ताइवानको परराष्ट्र मन्त्रालयले चेतावनी दिँदै भनेको छ, ‘मलेसियाले चीनलाई दिएको एकपक्षीय समर्थनले मलेसियामा लगानी गर्ने ताइवानी व्यवसायीहरूको विश्वासमा नकारात्मक असर पार्न सक्छ। बल प्रयोगको धम्कीमार्फत ताइवान जलमार्गको यथास्थितिलाई एकपक्षीय रूपमा बदल्ने प्रयासको समर्थन गर्ने वक्तव्यले ताइवान र मलेसियाबीचको राजनीतिक विश्वासलाई गम्भीर क्षति पुर्याउँछ।’ ताइवानका सोसल मिडिया प्रयोगकर्ताहरूले पनि अनवरको चर्को आलोचना गरेका छन्। उनीहरूले ताइवानका २ करोड ३० लाख जनताको भावनालाई बेवास्ता गरेको र बेइजिङको सैन्य धम्कीलाई प्रश्रय दिएको आरोप लगाएका छन्। चीनले भने मलेसियाली प्रधानमन्त्रीको भनाइको खुलेर प्रशंसा गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री अनवरको भनाइको स्वागत गर्दै भने, ‘चीन मलेसियाका प्रधानमन्त्री अनवरको अभिव्यक्तिको प्रशंसा गर्दछ। ताइवान चीनको भूभागको अविभाज्य अङ्ग हो र चीन पुनः एकीकृत हुनुपर्छ र हुनेछ।’ताइवानसँगको विवाद चुलिएपछि र आफ्नै देशका सञ्चारमाध्यमहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री अनवरले आफ्नो पूर्ववत् भनाइबाट केही पछि हट्ने प्रयास गरे। उनले मलेसियाले चीनको अडानको सम्मान गर्ने भए पनि ताइवान जलमार्गको तनाव शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने पक्षमा आफू रहेको बताए। सन् १९७४ मा मलेसियाका तत्कालीन प्रधानमन्त्री तुन अब्दुल रजाक र चिनियाँ प्रधानमन्त्री चाउ एनलाईबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न हस्ताक्षर भएको संयुक्त विज्ञप्तिदेखि नै मलेसियाले बेइजिङलाई चीनको एकमात्र वैध सरकारको रूपमा मान्यता दिँदै आएको छ। सन् २०२४ मा पनि चीनसँगको संयुक्त वक्तव्यमा मलेसियाले ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता र ताइवानी स्वतन्त्रताको विरोधलाई पुनः दोहोर्याएको थियो।



