
काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा ११ भदौदेखि ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुँदैछ । महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो ।सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने आयोजक केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । एक दिने सम्मेलनमा महिलाको आर्थिक सशक्तिकरणलाई समुन्नतिको महत्वपूर्ण आधारका रूपमा लिँदै महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिने बताइएको छ । सम्मेलनबाट महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पुग्ने विश्वास कांग्रेसको छ । तीनवटा विषयगत प्यानल छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।



