WhatsApp Unknown 2026-08-14 at 3.57.32 PM
रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाललाई लिएर नगर प्रमुख सञ्जयकुमार काफ्लेले अपनाएको भनिएको फरक–फरक धारणा सार्वजनिक भएपछि नगरभित्रको प्रशासनिक विवाद थप पेचिलो बनेको छ। साउन २६ गते आयोजित पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाललाई योग्य, कुशल र प्रशासनिक विषयमा जानकार कर्मचारीका रूपमा प्रस्तुत गर्दै आफूहरूबीच कुनै विवाद नरहेको बताएका थिए। तर त्यसको केही दिनअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको पत्रमा भने ढकालको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सरुवा गर्न माग गरिएको तथ्य बाहिरिएको छ। मन्त्रालयलाई पठाइएको पत्रमा ढकालले जनप्रतिनिधि तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न नसकेको, कार्यसम्पादन सन्तोषजनक नरहेको र उनीविरुद्ध जनगुनासो रहेको दाबी गरिएको छ। साथै उनको स्थानमा अर्का प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरिएको बताइएको छ। नगरपालिकाभित्र भने विवादको कारण प्रशासनिक निर्णय र आर्थिक अनुशासनसँग जोडिएको हुनसक्ने चर्चा छ। नगर स्रोतका अनुसार ढकालले जिम्मेवारी सम्हालेपछि इन्धन, विविध खर्च तथा अन्य शीर्षकमा हुने खर्चमा कडाइ गरेका थिए। खर्च व्यवस्थापनमा कडाइ भएपछि राजनीतिक नेतृत्व र प्रशासनबीच असमझदारी बढेको स्रोतको दाबी छ। यसैबीच केही कर्मचारीमाथि दबाब र दुर्व्यवहार भएको आरोपसमेत उठेको छ। केही जनप्रतिनिधिले कार्यालयमा पुगेर कर्मचारीलाई गालीगलौज गर्ने र प्रशासनिक वातावरण बिगार्ने काम भएको दाबी गरेका छन्। यद्यपि आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। विवाद मिलाउन उपप्रमुखसहित केही वडाध्यक्ष तथा कार्यपालिका सदस्यले पहल गरे पनि ठोस सहमति बन्न सकेको छैन। बरु नगरपालिकाको खाता सञ्चालन, अत्यावश्यक खरिद र नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था देखिएको स्रोतले जनाएको छ। नगरपालिकाको आन्तरिक विवाद लम्बिँदा कर्मचारी तथा शिक्षकको तलब भुक्तानी, विपद् व्यवस्थापन र पशु स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री खरिदलगायत सेवामा असर पर्न सक्ने चिन्ता बढेको छ। स्थानीय सरकारको नेतृत्वले राजनीतिक मतभेदभन्दा नागरिकको सेवा र प्रशासनिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने भए पनि चन्द्रपुरमा नेतृत्व र प्रशासनबीचको टकराव नै मुख्य विषय बनेको छ।


