सिरहामा सर्वपक्षीय बैठक, सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै सिरहामा सर्वपक्षीय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा बुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भावमा जोड दिँदै सातबुँदे निर्णय गरेको छ । बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ, भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले देवानगञ्ज घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, धार्मिक स्थलमा प्रयोग हुने डीजे तथा चर्को ध्वनिका कारण जनस्वास्थ्य र विद्यार्थीको पठनपाठनमा असर पर्ने निष्कर्ष निकाल्दै नियमविपरीतका डीजे तथा चर्को बाजा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ ।यस्तै, जिल्लाभित्र हुने आन्दोलन तथा विरोधका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने, सामाजिक सद्भाव कायम राख्न स्थायी संयन्त्र निर्माण गरी आवश्यकताअनुसार बैठक, निर्णय र सूचना प्रवाह गर्ने निर्णय पनि गरिएका छन् । यस्तै, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, द्वेषपूर्ण सामग्री प्रसारण गर्ने तथा राजनीतिक वा अन्य घटनालाई उचालेर सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि निगरानी बढाइ आवश्यक कानुनी कारबाही गर्ने निर्णय भएको छ । बैठकले जिल्लाका सबै स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।