विराटनगरमा नक्कली सीडी‌ओ कार्यालय खडा गरी नागरिकता बनाउने गिरोह सक्रिय

विराटनगर । विराटनगरमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी एकल महिला मनिषा कामतलाई नागरिकता कसरी बनाउने भन्ने प्रक्रिया थाहा थिएन । नागरिकता बनाउने सहज माध्यमको खोजीमा रहेका बेला उनको भेट विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठसँग भयो । आफूलाई प्रशासनको प्रभावशाली व्यक्तिको रूपमा चिनाएका श्रेष्ठले मनिषा र उनका मामाको नागरिकता बनाइदिने प्रलोभन देखाए । त्यसबापत उनले मनिषाबाट एक लाख ३० हजार रुपैयाँ लिए । अरुको घरमा काम गरेर कमाएको रकमसहित कागजात र फोटो उनले महेन्द्रचोक पुगेर श्रेष्ठलाई बुझाइन् । फोटोसहितको विवरण बुझाएको तेस्रो दिनमा श्रेष्ठले उनलाई महेन्द्र चोकमै बोलाएर नागरिकता थमाए । ३० वर्षीया दुई सन्तानकी आमा मनिषा नागरिक बन्न पाएकोमा निकै उत्साहित थिइन् । सोही नागरिकता लिएर उनी बुधबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन् । तर, त्यहाँ पुगेपछि आफ्नो नागरिकता नै नक्कली भएको थाहा पाइन् ।