
काठमाडौं । नेपालमा यस वर्ष मनसुनको आगमन केही ढिलो हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै मनसुन आउन अझै केही दिन लाग्ने जनाएको छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्दछ, तर यस वर्ष हालसम्म मनसुनको आगमन भइसकेको छैन । भू-उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आउन केही दिन ढिलो हुने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखेलले जानकारी दिइन्। विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एलनिनो’ विकसित भइसकेको र यो अझ बलियो हुने क्रममा रहेको छ । एलनिनोको प्रभावका कारण नेपालको मनसुन आगमनमा ढिलाइ हुनुका साथै यस वर्ष मनसुन कमजोर हुन सक्ने सम्भावना पनि देखिएको छ । विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावले मनसुन आगमन ढिलो भएको तथ्यांकले देखाएको छ । यद्यपि, अहिले पनि नेपालमा पश्चिमी वायुको सक्रियता र स्थानीय वायुको प्रभावले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम खालको वर्षा भइरहेको विभागले जनाएको छ । विभागले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक जानकारी गराउँदै जाने जनाएको छ ।



