
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) – नेपाल समसामयिक अध्ययन केन्द्रले ‘स्थानीय सरकार युवा संघीयता फेलोसिप’ कार्यक्रमलाई कार्यान्वयनमा लगेका छन् । स्थानीय विकास मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र यूएनडीपी नेपाल सँगको साझेदारीमा केयूको स्कुल अफ आर्टस् अन्तर्गत रहेर कार्यक्रम अगाडि बढाइएको हो । कर्णाली प्रदेशको सुर्खेत, सुदूरपञ्चिम प्रदेशको धनगढी तथा मधेश प्रदेशको जनकपुरमा यसै साता क्रमशः २५, २२ र २४ गरी ७१ जना युवालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको हो । तालिम प्रदान गरी दक्ष युवा पेशाकर्मीलाई स्थानीय सरकारसँग १७ महिना काम गर्नेगरी पालिकामा खटाइने छ नेपाल समसामयिक अध्ययन केन्द्रले निश्चित मापदण्ड तोकी राजनीतिशास्त्र, कानुन, समाजशास्त्र, सार्वजनिक प्रशासन वा विकास अध्ययन जस्ता विषयहरूमा शैक्षिक पृष्ठभूमि बनाएका ३० वर्ष मुनिका विश्वविद्यालयमा स्नातकमा अध्ययन गर्नेलाई छनोट गरिएको हो ।



