रानीसैन विवाद : कर्णाली करिडोर बन्द गरेपछि हुम्लामा पनि आन्दोलन

 हुम्ला । रानीसैन विवादलाई लिएर बाजुराबासीले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक बन्द गरेपछि हुम्लामा पनि आन्दोलन सुरु भएको छ । शुक्रबार दिउँसो हुम्लाबासीले जिल्ला प्रशासन कार्यालय हुम्ला अगाडि पुगेर प्रदर्शन गरिरहेका छन् । बाजुराबासीले सडक अवरुद्ध पार्दा सयौं हुम्ली बाजुराको धुलाचौरमा भोकभोकै अलपत्र परेको भन्दै हुम्लामा प्रदर्शन गरिएको हो । बाजुरामा अवरुद्ध सडक नखुलाए आन्दोलन अझै चर्काउने प्रदर्शनकारीले बताएका छन् । उनीहरूले बाजुराबासीबाट हुम्लाबासीमाथि ज्यादती भएको पनि दाबी गरेका छन् । यसैक्रममा प्रदर्शनकारीहरूले शुक्रबार प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीमार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षणपत्र पनि बुझाएका छन् । हुम्ला र बाजुराको सीमा क्षेत्रमा पर्ने रानीसैनमा सीमा विवादलाई लिएर पछिल्लो एक महिनायता विवाद चलिरहेको छ । यसैक्रममा जेठ ३ गते बाजुराको लाम्पाटामा दुई समुदायबीच झडप पनि भएको थियो । जसमा बाजुराका केही व्यक्ति घाइते भएका थिए । सोही घटनालाई लिएर बाजुराबासीले बुधबारदेखि कर्णाली करिडोर अवरुद्ध पारेका छन् ।