
काठमाडौं । दोलखाको हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । जिरी उपत्यका र सुरी गाउँको शिरमा रहेको हिलस्टेसन चेर्दुङका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको हो । एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षक तीन दिने प्रदर्शनीमा लामाले खिचेका ३१ ओटा तस्वीर राखिएका छन् । ती तस्वीरमा गौरीशंकर हिमशृंखला, स्थानीय जीवनशैली, जिरी उपत्यका, झ्याँकुु गाउँ, साइक्लिङ, स्थानीय संस्कृति आदिका प्रतिबिम्ब समावेश छन् । विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञ दूत एवं पर्यटनविज्ञ आङछिरिङ शेर्पाले प्रदर्शनको उद्घाटन गरेका हुन् । उनले चेर्दुङसँगका अनुभूति बाँड्दै प्रदर्शनीबाट चेर्दुङ चम्किने विश्वास व्यक्त गरे ।



