
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन् ।जनस्तरबाट सम्पत्ति विवरण माग भएपछि त्यसको जवाफ दिने क्रममा मेयर साम्पाङले आफ्नो नाममा अचल सम्पत्ति शून्य रहेको दाबी गरेका छन् । ‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि दिउँला,’ उनले भनेका छन्, ‘मेरो नाममा केही छैन । वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला । बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु ।’ उनले पैतृक सम्पत्तिका रूपमा खोटाङमा केही खेतबारी मात्र रहेको र त्यो पनि आमाको नाममा रहेको खुलाएका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा भिरालो पाखा, खरबारी, बाँस र उत्तिसघारीसहितको केही खेतबारी आमाको नाममा रहेको उनले बताएका छन् । बाउबाजेले कमाएको उक्त पैतृक सम्पत्तिमा दाजुदिदीले समेत अहिलेसम्म अंश नलिएको साम्पाङले उल्लेख गरेका छन् । जनप्रतिनिधिहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था र नागरिक स्तरबाट उठिरहेका प्रश्नलाई सम्बोधन गर्दै उनले औपचारिक रूपमै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।



