दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास कति प्रभावकारी होला ?

काठमाडौं । अमेरिका-इरानयुद्ध र त्यसबाट सिर्जिन इन्धन संकटको अवस्थामा सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । हप्ताको छ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर अवधि भने लम्ब्याउने रणनीतिका साथ सरकारले आज (सोमबारदेखि) नै लागू हुने गरी कार्यालय समय परिवर्तन र सार्वजनिक बिदाको घोषणा गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थाबाहेक अरुका हकमा उक्त कार्यालय समय लागू हुनेछ । उनले भने, ‘शैक्षिक संस्था बाहेक कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ ।’ नेपालमा सार्वजनिक र सेवा क्षेत्रमा सातामा ४० घण्टासम्म काममा लगाउने अभ्यास चलिरहेको छ । अहिले दैनिक ७ घण्टा र शुक्रबार ५ घण्टा गरी ४० घण्टा कार्यालय समय तोकिएको थियो । अब भने दैनिक ८ घण्टाका दरले पाँच दिन काम गरे हुने व्यवस्था गरिएको हो । सरकारले निर्णय गरेसँगै देशभरका न्यायालयहरुले पनि सोमबारदेखि बिहान ९ बजे नै कार्यालय खुल्ने सूचना निकालेका छन् । सुरक्षा निकाय र त्यहाँबाट हुने औपचारिक कामकारबाहीको समयतालिका पनि अब बदलिनेछ । सेवामूलक निजी क्षेत्रले पनि समय तालिका परिवर्तन गर्नेछन् । तर, शैक्षिक निकायहरुको बारेमा भने स्पष्ट खाका आइसकेको छैन । अनौपचारिक प्रकृतिको श्रम खपत गर्ने क्षेत्रमा हुने समय व्यवस्थाको टुंगो लागिसकेको छैन ।