अन्तर्राष्ट्रिय पर्यटनमा चौतर्फी चुनौती, आन्तरिकलाई बिदा राहत

काठमाडौं । मार्च २०२६ मा पर्यटक आगमन सन् २०२५ को तुलनामा एक प्रतिशत घट्यो । यो संख्या ठूलो हुने सम्भावना थियो । तर, भारत सहित सार्क मुलुकका पर्यटक आगमनमा आएको २१ प्रतिशतको सुधारले कुल पर्यटक आगमनमा ठूलो खाडल पर्न दिएन । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२६ मा १ लाख २० हजार ५ सय १६ पर्यटकलाई मुलुकले स्वागत गर्‍यो । २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक आएका थिए । अर्कातर्फ, यो सिजन पदयात्रा र पर्वतारोहणमा धेरै पश्चिमा देशबाट पर्यटक आउने विगतको प्रवृत्ति छ । तथ्यांकले यसमा ठूलो असर परिरहेको देखाएको छ । अमेरिकाबाट गत मार्चमा ७ हजार ९ सय ७४ जना आएका छन् । २०२५ मार्चमा यो संख्या ११ हजार ९२ थियो । अर्थात्, संख्या २८.१ प्रतिशतले ओरालो लाग्यो । युरोपेलीको आगमन ‘ट्रेन्ड’ पनि यस्तै छ । बेलायतबाट ४ हजार ८ सय १४ जना मार्चमा नेपाल आए । गत वर्ष ५ हजार ९ सय ९५ आएका थिए । बेलायतबाट हुने आगमनमा १९.७ प्रतिशत गिरावट आयो । युरोपेली भेगको समग्र आगमनमा १८.९ प्रतिशतको गिरावट रेकर्ड गरिएको छ । पश्चिम एसियामा चर्किएको युद्ध लम्बिँदै जाँदा त्यस भेगलाई ‘ट्रान्जिट’ बनाएर नेपाल आउने पर्यटक आगमनमा प्रत्यक्ष असर गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन् ।