मधेश केन्द्रित नेताहरूसँग संवादमा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् । उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे । रास्वपा सभापति लामिछानेलाई भेट्न लोसपाका अध्यक्ष ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी सभापति लामिछानेको सचिवालयले जनाएको छ । पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् । आजपा अध्यक्ष साहसँगको भेटमा पनि सभापति लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए । देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवैपक्ष सहमत भएका छन् ।आजपा अध्यक्ष साहका अनुसार लामिछानेसँग करिब २० मिनेट भेट भएको थियो । ‘विशेष गरी सरकारले कर्णाली र मधेशलाई प्राथमिकताका साथ अगाडि बढाउन चाहेको छ । मधेशलाई कसरी विकासमा आगाडि बढाउने भन्ने विषयमै छलफल भयो’, साहले भने । यसका अलावा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई कसरी हेर्ने, अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । भेटमा सभापति लामिछानेले सरकार सबैको हो र सबैको चाहना अनुसार विकास र समृद्धिका लागि काम गर्ने गरी अगाडि बढ्ने चाहेको पनि बताए । जवाफमा आफूले सरकारले राम्रो गरे समर्थन नराम्रो हुन लागेको अनुभूति भए खबरदारी गर्ने बताएको साहले सुनाए । ‘हामीले दलतन्त्रको विरोध गर्दै आएका थियौं । रास्वपामार्फत जनताले त्यही सन्देश लिएका छन् । राम्रो गर्नुहोस् हाम्रो समर्थन रहन्छ । नराम्रो हुन लागेको अनुभूति भए खबरदारी गर्छौं’, साहले लामिछानेलाई भने ।