दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो ।समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो । घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तलामा मानिसहरू बस्थे। यद्यपि, घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने बारे पूर्ण जानकारी नभएको जनाइएको छ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गरेकी छिन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका छन् ।