
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास स्वरूप मधेशमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै त्यसो हुन नदिन मधेशवादी जनता एकठाउँमा उभिनु पर्ने बताए ।‘मधेशी जनताले पाएको अधिकार पनि खोस्नका लागि मधेशमा भ्रम छर्ने काम भइरहेको छ,’ उनले भने । अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासका लागि लड्नुपर्ने बताएका उनले विगतमा सक्षम जनप्रतिनिधि नचुनिएकाले आवाज उठाउन नसकिएको र सप्तरी ३ विकासमा पछाडि परेको बताए । प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले सप्तरी २ बाट आफूले चुनाव जितेपछि शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा उल्लेखनीय कार्य गरेको दावी गरे । ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा इञ्जिनियरिङ भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ्ग भवन, विद्यालयहरूमा शैक्षिक भवन, रुपनी–राजविराज सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक निर्माण, पालिकाहरूलाई एम्बुलेन्स लगायतका कामहरू अगाडि बढाएँ,’ उनले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ मेरो अनुपस्थितिमा ती कार्यहरू अगाडि बढाउनुको साटो भाँजो हाल्ने काम भयो ।’ विगतमा मधेश र मधेशी जनतामाथि भइरहेको चरम विभेद एवम् दमनविरुद्ध मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा सङ्घर्ष भएको चर्चा गर्दै फोरमसँगको सम्झौतापछि गाउँगाउँमा नागरिकता टोली खटाएर नागरिकता वितरण गरिएको उनले बताए ।



