चन्देश्वर खेतमा मजदुरी गर्न गएका थिए, विद्युतीय तारमा परेर ज्यान गुमाए

जनकपुरधाम । धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महताे रहेका छन् । स्थानीयय रामचन्द्र महताेले आफ्नाे खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्देश्वर रामचन्द्रकै खेतमा मजदुरी गर्न गएका थिए । त्यही विद्युतीय बारमा करेन्ट लागेर एउटा बाँदर समेत मरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।