
वीरगञ्ज। “हाम्रो समुदायभित्रको संगीत र प्रतिभाको उत्सव” भन्ने भावनासहित आयोजना गरिएको “अरुणोदय सुर संध्या – सिजन २” वीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिनाले दीप प्रज्वलन गरी गर्नुभयो। उक्त अवसरमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष रूपमा मारवाडी समुदायका महिलाहरूले आफ्ना सांगीतिक प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। भजनदेखि लोकप्रिय गीतसम्मको प्रस्तुतीले सांगीतिक माहोललाई जीवित बनाएको थियो। आयोजकका अनुसार, “अरुणोदय सुर संध्या” को मूल उद्देश्य भजन प्रेमी, बाथरूम गायकदेखि संगीतप्रेमी महिलाहरूलाई प्रेरणा र मञ्च प्रदान गर्नु, उनीहरूको कला र आत्मविश्वासलाई उजागर गर्नु रहेको छ। साँझभर प्रस्तुत गरिएका गीत-संगीत र भावनात्मक प्रस्तुतीहरूले कार्यक्रममा सहभागी सबैको मन जितेको थियो। संगीतप्रेमी समुदायले कार्यक्रमको खुलेर प्रशंसा गरेका छन्।



