लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई गम्ला सहयोग

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी क्लबको नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिले नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ । सहयोग कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभा हलमा आयोजना गरिएको थियो । क्लबका अनुसार कार्यक्रमको उद्देश्य वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै महासङ्घको कार्यालय परिसरलाई हराभरा बनाउने रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय महतो, अजित भुजेल लगायत महासङ्घका अन्य पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । साथै, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीका पदाधिकारीहरूसँगै अन्य विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले क्लबको सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रियता र सरोकारको प्रशंसा गर्दै यस्ता सहयोगमूलक पहल भविष्यमा पनि निरन्तर रहनुपर्नेमा जोड दिए ।

अध्यक्ष सुशीला साहले भनिन्, “हरेक संस्थामा हरियालीको महत्त्व हुन्छ, र स-साना प्रयासहरूले पनि समाजमा ठूलो सकारात्मक सन्देश दिन सक्छ । क्लब सामाजिक कार्यमा अझ सक्रिय रहने प्रतिबद्धतासहित यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जानेछ ।”