वीरगञ्जमा २५ मिटर सडक विस्तारको काम सुरु, सर्वोच्चको आदेशपछि मेयर सिंहले चलाए मेनरोडमा डोजर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा वीरगञ्ज बजारको मुख्य सडक विस्तार गर्ने बहुप्रतीक्षित अभियान पुनः सुरु भएको छ। लामो समयदेखि रोकिएको यो योजना १६ असारदेखि त्रिभुवनराज पथ क्षेत्रबाट औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। सर्वोच्च अदालतमा स्थानीयवासीहरूले दायर गरेको मुद्दा हालै खारेज भएपछि कानुनी अड्चन हटेको र त्यसपछि डोजरसहितको टोली परिचालन गरिएको महानगरले जनाएको छ। अदालतको कुनै निर्देशनात्मक आदेश नआएको स्पष्ट गर्दै मेयर सिंहले अब अतिक्रमण हटाउने कार्यमा बाधा नरहेको बताए। “सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै सहरको समग्र विकासका लागि आजबाट सडक विस्तारको काम थालिएको हो,” मेयर सिंहले बताए, “सहरलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने हाम्रो लक्ष्यमा अब अवरोध सहन सकिँदैन।” महानगरको टोलीले भन्सार क्षेत्रबाट सुरु गर्दै मुख्य सडक हुँदै गण्डक चोकसम्म २५ मिटर चौडाइमा सडक विस्तारको लक्ष्य लिएको छ। त्रिभुवनराज पथ वीरगञ्जको मुटु मानिने प्रमुख व्यापारिक मार्ग हो, जुन रक्सौलबाट भित्रिने सवारी साधनका लागि प्रवेशद्वारसमेत हो। यो मार्ग वीरगञ्ज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग नेपाललाई जोड्ने प्रमुख मालवाहक मार्ग हो। सडक साँघुरो, अव्यवस्थित र अतिक्रमणका कारण दैनिक जाम, दुर्घटना र धुलो–धुवाँको समस्या झेल्दै आएका नागरिकले यो अभियानबाट ठूलो राहतको आशा गरेका छन्। स्थानीय व्यापारी, युवाहरू र सामाजिक अभियन्ताहरूले सडक चौडा भएपछि वीरगञ्जको स्वरूप नै फेरिने बताउँदै अभियानप्रति समर्थन जनाएका छन्। यद्यपि केही स्थानीयवासीहरूले उचित मुआब्जा नपाएको गुनासो गर्दै विरोध जनाइरहेका छन्। तर, महानगरपालिकाले ३० दिनअघि नै सूचना जारी गरेर स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरेको थियो। प्रतिक्रिया नआएपछि मात्रै डोजर प्रयोग गरिएको हो। यो अभियानले वीरगञ्ज शहरको ट्राफिक समस्या, पूर्वाधार अव्यवस्था र सार्वजनिक सुरक्षासम्बन्धी चुनौती समाधान गर्ने अपेक्षा गरिएको छ।