ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना गर्न दलहरू सहमत

 वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु चुनावको रोकिएको मत गणना सुरु गर्न दलहरू सहमत भएका छन् । पर्साको जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको बैठकमा स्ववियु चुनावमा सहभागी भएका विद्यार्थी संगठनका माउ पार्टीसँग छलफल भएको थियो । सो छलफलमा दलहरू मत गणना गर्न सहमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति हरि पन्तले बताए । ‘स्ववियु चुनावमा १४ वटा संगठन सहभागी भएका थिए । ती सबै संगठन निकटका दलहरू रोकिएको मतगणना गर्न सहमत भएका छन्,’ उनले भने । ‘मतगणना गर्न सबै दल सहमत भएका छन् । फर्जी विद्यार्थी भर्नाको कुरा आएको छ । यो दाबी विरोधको समयमै आउनु पर्थ्यो,’ पन्तले अनलाइनखबरसँग भने, ‘खसेको मतको सम्मान गर्नुपर्छ भन्ने भएको छ ।’ फर्जी विद्यार्थी भर्ना गरेको पाइमा अनुसन्धान गरेर प्रशासनले कारबाही गर्ने सहमति भएको उनले बताए । ‘भोलि माउ पार्टीले आफ्नो संगठनसँग छलफल गरेर मत गणना सुचारु गर्ने भन्ने कुरा छ,’ उनले भने ।

अझै सुल्झिएन ठाकुरराम क्याम्पसको मतगणना विवाद, सहमति प्रयास जारी

मतगणना गर्न स्वतन्त्र मतगणना पर्यवेक्षक टोली गठन गर्ने सहमति भएको छ । निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले निर्वाचन समितिको निष्पक्षता माथि प्रश्न उठाएकाले गणना गर्न पत्रकार महासंघ, नेपाल बार एसोसिएसन र मानव अधिकार क्षेत्र समेतको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने सहमति भएको हो । गणनाको क्रममा भर्ना प्रक्रियामा अनियमितताको विषय उठेकाले छानिबन गर्न समिति गठन गर्ने सहमति भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको संयोजकत्वमा क्याम्पसको एक जना प्रतिनिधि र प्रहरीबाट एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति बनाउने निर्णय भएको छ । ठाकुरराम क्याम्पसमा कुल १० हजार ७२९ मतदाता रहेकोमा ४ हजार २९९ जनाले मतदान गरेका थिए । जसमध्ये १ हजार ६ मत गणना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *