
वीरगञ्ज । नयाँ दिल्लीमा आयोजित तीन दिने बिमस्टेक बिजिनेस सम्मेलन २०२४ मा सहभागी हुन नेपाल भारत उधोग वाणिज्य संघको वीरगञ्ज च्याप्टरका अध्यक्ष श्री अभिषेक चौधरीको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले आज नेपाली राजदूतावासमा महामहिम राजदूत डा.शंकर प्रसाद शर्मासँग शिष्टचार भेट गरेको छ । भेटको अवसरमा अध्यक्ष चौधरीले महामहिम राजदूतसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबीच रही आएको सौहार्द्रपूर्ण सम्बन्धको चर्चा गरे । साथै,दुई देशबीचको वाणिज्य, पारवहन, पर्यटन, जलविद्युत, लगानी प्रवद्र्धन लगायतका विषयमा छलफल भएको जानकारी गराए ।अध्यक्ष चौधरीले १९९६ को ऐतिहासिक वाणिज्य सन्धी र १९९९ को पारवहन सन्धीपछि दुई देशबीचको व्यपार बढ्दै गएर अहिले नेपालको कुल व्यपारको झन्डै दुई तिहाई भारतसँग भइरहेको र नेपाल पनि भारतको प्रमुख निर्यात गन्तव्य राष्ट्रको सूचीमा परिसकेको बताए । उनले हालको विश्व बजारको माहोल र २८ बर्षअघिको सन्धीको परिप्रेक्ष्यमा क्रमश: परिमार्जन आवश्यक रहेकोमा जोड दिए । उक्त भेटमा, भारतको वरिपरि रहेका साना छिमेकी मुलुकहरुका लागि उत्पादन आपूर्ति व्यवस्थामा सुधार आवश्यक रहेको, तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा मूल्य अभिवृद्धि सहित उत्पादन गर्दा भारतीय कच्चा पदार्थलाई नेपाली कच्चा पदार्थ सरह गणना गर्न सकिने र भारतीय भूमीमा तिरिएको विभिन्न शुल्कहरु मूल्य अभिवृद्धिमा गणना गर्न मिल्ने व्यवस्था हुनुपर्ने कुरा अध्यक्ष चौधरीले जानकारी गराए । अध्यक्ष चौधरीले नेपालबाट भारतमा निकासी गर्दा भारतीय रुपैयाँमा निकासी गरे पनि निकासी मान्ने भन्ने वाणिज्य सन्धिको धारा ७ को प्रावधान व्यवहारमा लागू हुनुपर्ने र आयात निर्यात दुवैमा दुवै पक्षलाई मान्य अन्तराष्ट्रय प्रयोगशाला स्थापना गर्ने आवश्यकता रहेकोमा जोड दिए । साथै, भारतबाट नेपालमा औषधी आयातमा समस्या रहेको र नेपाली उत्पादकहरुले विश्वस्तरीय उत्पादन गर्दा पनि निकासी गर्न नसकेको यथार्थलाई सम्बोधन गर्न अनुरोध गरे । कार्यक्रममा नेपाली राजदूतावासको तर्फबाट नियोग उपप्रमुख डा.सुरेन्द्रथापा, मिनिस्टर(इकोनोमिक) श्री तारा नाथ अधिकारी, काउन्सेलर श्री बद्री प्रसाद तिवारी, पि.एच.डी. च्याम्बर अफ कमर्शमा भारत नेपाल केन्द्रका संयोजक श्री अतुल ठाकुर र नेपाल भारत उधोग वाणिज्य संघका वीरगञ्ज च्याप्टरका तीन विभिन्न समितिका संयोजकहरु श्री चन्दन सिंह, श्री सुमित केयाल र श्री दिपेश अग्रवालको उपस्थिति थियो ।



