
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको माग उच्च रहेको वर्तमान संकटपूर्ण अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सम्पूर्ण ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकहरूको ध्यानाकर्षण गराएको छ । विभागले जम्माखोरी तथा कृत्रिम अभाव जस्ता गैरकानूनी व्यापारिक क्रियाकलाप नगरी वितरण प्रणालीलाई सहज बनाउन सबै उद्योगी र वितरकहरूलाई सचेत गराएको हो । सोमबार विभागको अनुगमन टोलीले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग प्रालिको गोदाममा अनुगमन गर्दा १४.२ केजी तौलका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर फेला पारेको थियो । कृत्रिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको भन्दै विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ। साथै, गोदाममा मौज्दात रहेका ती सम्पूर्ण ग्यास सिलिन्डरहरू नेपाल आयल निगमको समन्वय र रोहवरमा तत्काल बिक्री वितरणको व्यवस्था मिलाउन समेत कडा निर्देशन दिइएको छ ।



