
सिरहा । सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ । सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्य बन्दै गएको हो । हातहतियार बरामद भएको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, ‘अनुसन्धानको क्रममा जो दोषी देखिन्छ, उसमाथि कानुन बमोजिम कारबाही हुन्छ । अहिले कारागारको अवस्था समान्य छ ।’ कारागारको अशान्त अवस्थाबारे छलफल गर्न कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी पौडेलको कमान्डमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । यसअघि सोमबार बिहान करिब ११ बजे अनुगमन गर्ने क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । सोही क्रममा यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामध्ये एक जनाको सोही दिन कैद अवधि सकिएकाले रिहा गरिएको र बाँकी १२ जनालाई नुवाकोट, काठमाडौं सेन्टर तथा रौतहट कारागार पठाइएको प्रशासनले जनाएको छ । नाइके यादवलाई कारागारबाट हटाइएको विरोधमा कैदीहरूले सोमबार दिनभर, रातभर र मंगलवार दिनभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए । स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । त्यसक्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।



