
धनकुटा । धनकुटामा पछिल्लो समय साहित्यमा झुकाव राख्नेको संख्या बढ्दै गएको छ । बालबालिकादेखि युवा हुँदै पाका उमेरका जोसजाँगरका साथ यो क्षेत्रमा सक्रिय छन् । उनीहरू अरूका रचना सुन्न र आफ्नो रचना पस्कन कत्ति पनि हिच हिच्किचाउँदैनन् । त्यसो त धनकुटालाई पछिल्लो समय साहित्यको क्षेत्रमा लोकप्रिय नाम ‘चियासँग कविता’ बन्दै गएको छ । हरेक शुक्रबार हुने यो कार्यक्रममा साहित्यिक गतिविधि नहुने कुरै भएन । साहित्यमा लागेकाहरू अघिपछि व्यस्त हुन्छन् । सबै फरक/फरक पेसा–व्यवसायमा भएकाले पनि भेट हुन शुक्रबार नै कुर्नुपर्छ । शुक्रबार सरकारी नियम अनुसार आधा छुट्टी हुन्छ । छुट्टी सकेर घर जानेहरू पनि एकैछिन भएपनि साहित्य कार्यक्रममा रम्ने भएकाले सबैको भेट हुने उपयुक्त माध्यम बनेको छ । यो भेटमा साहित्यलाई अम्मल बनाउनेहरू प्राय: छुटदैनन् । ठूला कार्यक्रम नहुँदा भेट गर्नै मुस्किल पर्नेहरुलाई यो साप्ताहिक कार्यक्रमले नियमित भेट गराउन थालेको छ धनकुटामा कवि, लेखक तथा साहित्यकारहरु धेरै रहेका छन् । तर, उनीहरुको जमघट कम हुने भएकाले हरेक शुक्रबार चियासँग कविता कार्यक्रमको नियमित आयोजना गर्न थालिएको हो । धनकुटामा २०८१ माघको दोस्रो हप्तातिर श्रष्टाहरु मञ्जुल मितेरी, मुकुन्द प्रयास, केजी सुब्बा, रमेशचन्द्र अधिकारी, गोपाल बराइली, सन्तोष सुवेदी लगायतको टोलीले चिया भेटमा साहित्यकारबीच भेटघाट कसरी बढाउने भनेर छलफल गरे । त्यसै भेटमा चियासँग कविता कार्यक्रमको नाम जुराए । यसमा सबैले सहमति जनाए । कसले संयोजन गर्ने भनेर छलफल हुँदा धनकुटा एफएमका अध्यक्ष समेत रहेका गोपाल बराइलीले धनकुटा एफएमले संयोजन गर्ने भनेर फागुन २ गते शुक्रबारबाट हरेक शुक्रबार कार्यक्रम गर्ने भनेर कार्यक्रमको सुरु गरेका थिए । यो कार्यक्रममा कार्यक्रम प्रस्तोता तथा रेडियो धनकुटा एफएमका अध्यक्ष गोपाल बराइलीले कार्यक्रमको सञ्चालन गर्छन् । त्यसपछि पालैपालो सहभागी श्रष्टाहरुलाई आफूसँग भएको प्रतिभा अनुसार कविता, गजल, मुक्तक वा गित गाउने अवसर दिइन्छ । त्यसका लागि नेपाल पत्रकार महासंघ धनकुटाले हल उपलब्ध गराएको छ । गएको २०८१ फागुन २ गतेबाट सुरु भएको कार्यक्रम धनकुटा एफएमको संयोजनमै हुँदै आएको छ । हरेक शुक्रबार हुने चियासँग कविता कार्यक्रममा कविता लेख्न सिक्दै गरेका देखि कविता लेखनमा पाका बनेकाहरुले आफ्ना रचना सुनाइसकेका छन् ।कार्यक्रमको हरेक शृङ्खलामा आएका श्रष्टा मध्ये एक जनाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । हरेक कार्यक्रम फरक व्यक्तिको अध्यक्षतामा हुने गरेको बराइली बताउँछन् । कार्यक्रममा धनकुटाका कवि, लेखक तथा साहित्यकारहरुले समाजका विविध आयाममाथि आफ्ना भावनालाई कवितामार्फत पोख्ने गरेका छन् । कवितामा कसैले आफूले भोगेका पीडा दर्शाउँछन भने, कसैले महिला पुरुषबीचको विभेद र महिला हिंसाविरुद्धका कविताले गुञ्जयमान बनाउँछन् । कतिपयले असमानता र विभेदविरुद्धका मात्रै होइन, देश तथा मातृत्व प्रेमले भरिएका कविता कलात्मक ढंगले प्रस्तुत गर्छन । कवितामा जात व्यवस्थाविरुद्वका भावना मात्रै होइन, १० वर्षे सशस्त्र युद्ध र त्यसबाट प्रताडित भएकाहरुले जिउन गरेको संघर्षको बयान पनि सुन्न पाइन्छ । कविका कवितामा प्रेम, वियोग अनि संघर्ष र समाजको वास्तविक चित्रण पनि झल्कने गरेको छ । रचना बाचन हुँदा सहभागीहरु भावुकदेखि रोमाञ्चित हुन्छन् । यस्तो कार्यक्रम थोरै स्रोत – साधनबाटै गर्न सकिने हुँदा कार्यक्रमको आयोजना गर्न सहज नै रहेको आयोजकको भनाइ छ । कार्यक्रममा प्राय: सबैको उपस्थिति रहन्छ । कार्यक्रममा राम्रो जमघट हुने हुँदा तथा रचनाका पारखीहरुलाई अहिले हप्तामा २ वटा शुक्रबार भइदिए हुन्थ्यो जस्तो लाग्न थालेको कवि भीम राईले बताए । उनले यस्ता किसिमका कार्यक्रम गरेर स्रष्टाको सिर्जनामाथि आलोचना र समालोचना गर्ने गरिएको बताए । त्यत्तिकै चिया खाएर गफिनुभन्दा केही रचनात्मक कार्य गरौं भनेर यस्तो कार्यक्रम आयोजना गरिएको स्रष्टा बताउँछन् । कवि रमेशचन्द्र अधिकारीले यस्तो कार्यक्रमले साहित्य क्षेत्रमा लागेकालाई भेटघाट गराउने र सम्बन्ध सुमधुर बनाउने बताए । उनले केही नयाँ कार्यक्रम गरौं भनेर यस्तो कार्यक्रमको थालनी गरेका बताए । कार्यक्रमले आगामी फागुन १ गते शुक्रबार ५० औँ शृङ्खलासहित पहिलो वार्षिकोत्सव मनाउने तयारी गरेको छ । वार्षिकोत्सवमा विभिन्न ४ विधामा पुरस्कार वितरणको तयारी गरिएको छ । चियासँग कविता कार्यक्रमका सञ्चालक बराइलीले पुरस्कार छनोट समिति गठन गरिएको र समितिको सिफारिस अनुसार पुरस्कार वितरण गर्ने जानकारी दिए । वार्षिकोत्सवको अवसरमा चियासँग कविता संग्रह विमोचनसँगै १५ हजार राशीको चियासँग कविता धनकुटा साहित्य पुरस्कार, ५ हजार राशीको चियासँग कविता युवा साहित्य पुरस्कार, ५ हजार राशीको चियासँग कविता नव प्रतिभा पुरस्कार र ५ हजार राशीको चियासँग कविता पत्रकारिता पुरस्कार वितरण गर्ने तयारी रहेको बराइली जानकारी दिए । चियासँग कविता संग्रहमा वर्षभरि भएको चियासँग कविता कार्यक्रममा बाचन भएका कविताहरु प्रकाशन गर्ने तयारी गरिएको छ । वार्षिकउत्सवको दिन चियासँग कविता कार्यक्रम सञ्चालनका क्रममा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिने बताइएको छ ।



