राष्ट्रिय सभा सदस्यमा जसपा नेपालका उम्मेदवार निष्क्रिय

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निष्क्रिय हुने भएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच भएको सम्झौतामा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा जसपा नेपालका उम्मेदवार निष्क्रिय हुने विषय समेत समावेश छ ।  महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमतिमा भनिएको छ, जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि महिला समूह, अल्पसंख्यक समूह र दलित समूहमा दिइएको उम्मदेवारी निष्क्रिय गर्न सह‌मति गरियो ।’ राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् । बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ मा उम्मेदवारको मनोनयन दर्ता भएको छ । त्यसक्रममा राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा जसपा नेपालबाट तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दास रहेका छन् । उनीहरूको उम्मेदवारी निष्क्रिय पार्ने सहमति भएको हो ।