
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रा.ली.मा गैरकानूनी रुपमा रकम प्रवाह गरेको आरोपमा मुछिएका सहकारी ठगीका आरोपितहरुको दुईवटा अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णय गरेकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दायर भएको मुद्दामा आरोपित बनाइएका सबैको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ताको स्विकृती दिएकी हुन् । उनले सबैको हकमा ‘मुद्दा फिर्ता’को प्रक्रिया नअपनाई आरोपपत्र संशोधनको बाटो रोजेकी हुन् । यो निर्णयपछि अब जीबी राई, छविराज जोशी, रवि लामिछानेलगायत सबैविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै बाँकी छ । आरोपपत्र संशोधन भएका सबै मुद्दाहरु ग्यालेक्सी टिभीमा रकम प्रवाह गर्ने सहकारीहरुसँग सम्बन्धित हुन् । ‘गएको बुधबार रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधनको निर्णय भएको रहेछ’, एक उच्च तहका सरकारी वकिलले अनलाइनखबरसँग भने, ‘आरोपपत्र संशोधन व्यक्तिको हकमा नभई कुनै मुद्दाको हकमा हुन्छ । यसले भेदभावको प्रश्न उठ्छ भनेर हामीले सल्लाह दिएका थियौं, सबै आरोपितहरुको हकमा दुईवटा माग दाबी छाड्न स्वीकृति दिने निर्णय भएको रहेछ ।’शुक्रबार पछिल्लो निर्णयपछि गत बुधबार गरेको निर्णयको फाइल महान्यायाधिवक्ता कार्यालयले आफ्नो वेवसाइटबाट हटाएको छ । महान्यायाधिवक्ता कार्यालयको निर्णयले पोखरा(कास्की)को सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानोपाइला सहकारीमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ । चितवनमा भने संगठित अपराधको अभियोग दर्ता भएको थिएन ।
प्रहरीले बुझायो सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान फाइल, कम्तीमा ८ वर्ष कैद गर्न राय



