काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । उनले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताए । उनले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताए । उनले निर्वाचनका लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गरे । उनले भने, ‘सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्दथ्यो । अहिले सरकारले पार्टी कार्यालयमा पुगेर निर्वाचनको वातावरण बनाउन पहल गरिरहेको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अर्को विकल्प नदेखेको बताए । उनले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिए । सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै २१ फागुनमा निर्वाचन गराउनु नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको बताए । निर्वाचन नहुने हो की भन्ने शंका नगर्न पनिउनले आग्रह गरे ।
२०८२ पुष ९, बुधबार १४:५७




