
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन । आज प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गरिएको छ । यसअघि जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक सुरक्षा जाँच गरिएको थियो । जेनजी आन्दोलनको क्रममा सुरक्षा जाँच गर्ने उपकरणहरू जलाइएपछि बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गर्ने गरेको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले बताए । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेको हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।अस्वस्थ भएर उपचारका लागि काठमाडौं जान्छु भनेर मधेश भवनबाट निस्किएकी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा कात्तिक २४ गते झिसमिसे बिहानीमा शपथ खुवाएपछि विवाद बढेको थियो । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ गते परमादेश जारी गरेको थियो ।



