सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । ४ मंसिरमा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले स्वीकृति दिएका छन् । अब सेना परिचालनको बाटो खुल्छ । सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्नेबारे उल्लेख छ । सुरक्षाका प्लानलाई तीन तहमा विभाजन गरिएको छ ।निर्वाचनपूर्वको अवधि, निर्वाचनको अवधि र निर्वाचनपश्चात्को अवधि गरी तीन चरणमा सुरक्षा बाँडिएको छ । उक्त अवधिमा कसरी, कस्तो सुरक्षा योजनामा काम गर्ने भन्ने उल्लेख गरिएको छ ।यो पटक भने सुरक्षा चुनौती उच्च रहेको निष्कर्ष निकाल्दै निर्वाचनको एक महिना अघिदेखि नै सेना परिचालन गर्ने तयारी गरिएको छ ।