
काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रनको आक्रामक पारी खेलिन् । उनी ब्लाइन्ड महिला विश्वकपमै पहिलो अर्धशतक बनाउने खेलाडी बनिन् । यस्तै बिन्दा पुनले ८ बलमा १३ रन बनाइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मिहिरानी दुलान्जलीले सर्वािधक २३ रन बनाइन् । नेपालका लागि कान्ती योगीले ३ विकेट लिइन् । प्लेयर अफ द म्याच नेपालकी मनकेसी चौधरी घोषित भइन् ।नेपालले दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्नेछ । भारतले पनि पहिलो खेलमा श्रीलंकालाई हराइसकेको छ ।



