
जनकपुरधाम । मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् ।सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा र बारा बाहेक ६ वटा जिल्लामा कारागार छन् । सप्तरीको राजविराजस्थित सप्तरी कारागारबाट २०५ कैदीबन्दी भागेका छन् । जसमध्ये ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले बताए । दिउँसो १ बजेतिर थुनुवाहरूले भाग्नका लागि कारागार भित्र आगजनी गरेका थिए । प्रहरीहरू आगलागी निभाउन थालेपछि कैदी बन्दीहरू फरार भएका हुन् । त्यस क्रममा २५ जना र ६ जना गरी ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सीडीओ पोखरेलको भनाइ छ ।उनीहरू भारततिर भागेको हुन सक्ने प्रहरीको आशंका छ । ‘इन्डियाको नाकातिर भागेको हुन सक्छ । ३१ जनलाई पक्राउ गरि ल्याइएको छ । बाँकीको पनि खोजी गरिरहेका छौं’ सीडीओ पोखरेलले भने ।



