
गुल्मी । इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटमा रोपाइँ सुरु भएको छ । वर्षा सुरु भएपछि कृषकले रोपाइँ सुरु गरेका हुन् । लामो समयदेखि वर्षा नहुँदा यहाँ धान रोप्न समस्या भएको थियो । केही किसानले भने बीउ नै बिग्रिन थालेपछि मोटरले पानी तानेर रोपाइँ गरेका थिए । केही कृषकले सुक्खा ठाउँमै धान रोपेका थिए । आइतबारदेखि वर्षाले खेतमा पर्याप्त पानी जमेपछि किसानलाई राहत भएको हो । वर्षा नहुँदा धान रोप्न नपाएका किसा खुसी भएका छन् । स्थानीय किसान ढालबहादुर केसीका अनुसार अहिले खेतमा राम्रोसँग पानी जमेकाले धान रोपाइँ गर्न सहज भएको छ । ढिलो भए पनि मौसमले साथ दिएको भन्दै उनले खुसी व्यक्त गरे । सोमबार बिहानैदेखि कृषकहरू खेतमा व्यस्त भएका छन् । छल्दी फाँटमा तीनवटा ट्याक्टर द्वारा धान रोपाइँ भइरहेको छ । छल्दी फाँट गुल्मीको एक प्रमुख कृषियोग्य भू–भाग हो । उक्त क्षेत्रमा हरेक वर्ष ठूलो मात्रामा धान उत्पादन हुने गर्दछ । अबको केही दिन लगातार मौसम अनुकुल रह्यो भने बाँकी क्षेत्रको पनि रोपाइँ सकिने किसानहरु बताउँछन् । छल्दी फाँटमा ६० बढी कृषकको खेत छ । जसमा ५०० मुरीभन्दा धेरै धान उत्पादन हुन्छ । नजिकै छल्दी खोला बगेपनि कुलाको व्यवस्था नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नु पर्ने बाध्यता छ ।



