वीरगञ्जमा लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न, विद्यार्थीहरूमा सशक्त सन्देश

वीरगञ्ज । आमा नेपाल फाउन्डेसन, पर्साले वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित कन्या विद्यालयमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका कक्षा ९ का ७० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरले गरेकी थिइन् भने विद्यालयकी शिक्षिका अन्नपूर्णा मानन्धर प्रमुख अतिथि रहेकी थिइन्। विशिष्ट अतिथिका रूपमा वडा नम्बर ४ का सदस्य शर्मा सरभङ्ग, विद्यालयकी प्रधानाध्यापक अनिता साह, र जिल्ला प्रहरी कार्यालय अन्तर्गत नगवा प्रहरी चौकीका प्रमुख तथा प्रशिक्षक प्रनानी अजय कुमार राम सहभागी थिए। त्यस्तै युवा समाजसेवी सन्तोष कुमार श्रेष्ठ, शिक्षकहरू तथा अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षक प्रनानी अजय कुमार रामले लागुऔषधको परिभाषा, प्रभाव, कानुनी प्रतिबन्ध र सामाजिक असरहरूबारे वृत्तचित्र र फोटोमार्फत स्पष्ट जानकारी गराएका थिए। उनीले भने, “लागुऔषधले शारीरिक, मानसिक र सामाजिक रुपमा मानिसलाई कमजोर पार्दै समाजबाट बहिष्कृत बनाउँछ, र अन्ततः दु:खद मृत्युको कारण बन्न सक्छ।” प्रशिक्षक रामले विद्यार्थीहरूसँग अन्तरक्रियात्मक सत्रमार्फत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्दै सचेतना फैलाएका थिए। प्रमुख अतिथि अन्नपूर्णा मानन्धरले लागुऔषधबाट जोगिन विद्यार्थीहरूलाई आग्रह गर्दै, “नशा हाम्रो जीवनलाई नर्क बनाउँछ, यसबाट टाढा रहनु र अरूलाई पनि सचेत गराउनु हाम्रो कर्तव्य हो,” भन्नुभयो।विद्यालयकी प्रधानाध्यापक अनिता साहले सामाजिक जिम्मेवारीअनुसार यस्तो कार्यक्रमको निरन्तरताको आवश्यकता औंल्याउँदै आमा नेपाल फाउन्डेसन र जिल्ला प्रहरी कार्यालयप्रति आभार व्यक्त गरिन्। वडा सदस्य शर्माले भने, “लागुऔषधको असर केवल प्रयोगकर्तामा सीमित हुँदैन, यो समाज र राष्ट्र नै खोक्रो बनाउने प्रक्रिया हो।” उहाँले विद्यालय वरपर चुरोट, गुटखा लगायतका नशालु पदार्थको विक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेमा पनि जोड दिनुभयो। कार्यक्रमले विद्यार्थीहरूमा लागुऔषधसम्बन्धी चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक संस्थाले जनाएको छ। आमा नेपाल फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।