
वीरगञ्ज । रौतहटको गरुडा नगरपालिका-५ स्थित झाझ खोला नजिकै प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६७९६ नम्बरको रातो ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले १३ पोकामा प्याक गरिएको १३३ किलो गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले गाडीलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हुइँक्याउँदै भाग्ने प्रयास गरेका थिए । प्रहरीको पछ्याइबाट बच्न खोज्दा चालकले गाडीलाई झाझ खोला नजिकै सडकबाट करिब २० फिट गहिरो खेतको खरको घारीमा झारेर उखुबारी हुँदै फरार भएका छन् । प्रहरीले क्रेनको सहायताले गाडीलाई बाहिर निकालेर गाँजा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार, गाँजा तस्करीको सूचनाका आधारमा प्रहरीले चेकजाँच कडा पारेको थियो। गाडीमा सवार व्यक्तिहरूले प्रहरीको चेकिङ छल्ने प्रयास गरे पनि प्रहरीले तत्काल पछ्याएर गाडीलाई नियन्त्रणमा लिएको हो । गाडीभित्र सवारी चालक अनुमति पत्र र गाडीको कागजात फेला परेको र तिनको आधारमा फरार चालक तथा तस्करहरूको खोजी तीव्र पारिएको डिएसपी कार्कीले बताए । उनले भने, “हामीले उखुबारी वरपर सर्च अभियान सुरु गरेका छौँ । गाडी र बरामद गाँजाको सहायताले तस्करसम्म पुग्ने हाम्रो अनुमान छ ।” प्रहरीले गाँजा तस्करीको घटनाबारे गहन अनुसन्धान गरिरहेको छ । फरार व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले थप अनुसन्धान र खोजी कार्य जारी राखेको छ।



